सरकारसँग ५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन स्थगित, देशभर नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न आह्वान

काठमाडौं, साउन १३ – नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा भएको घटनापछि सञ्चालनमा ल्याएका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। सरकारसँग पाँच बुँदे सहमति भएपछि सङ्घले आन्दोलन रोक्ने निर्णय गर्दै देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको हो।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिएका छन्। सङ्घले आफ्ना सबै शाखा, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालमा नियमित सेवा प्रवाहमा फर्किन अनुरोध गरेको छ।
सङ्घका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा गृह मन्त्रालयका प्रतिनिधिबीच भएको छलफलपछि चिकित्सक सङ्घले उठाएका मागका विषयमा पाँच बुँदे सहमति भएको हो।
सहमतिसँगै देशभरका सरकारी तथा निजी अस्पतालमा प्रभावित स्वास्थ्य सेवा पुनः नियमित हुने अपेक्षा गरिएको छ। आन्दोलनका कारण केही स्थानमा ओपीडी लगायतका सेवा प्रभावित भएका थिए।
नेपाल चिकित्सक सङ्घले आन्दोलनका क्रममा ऐक्यबद्धता जनाउने अस्पताल निर्देशक, विभिन्न विशेषज्ञ समाज, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (APHIN), स्वास्थ्य क्षेत्रका विभिन्न सङ्घ–संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेको छ।
साथै, सरकारले गरेको पाँच बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गराउन सङ्घले निरन्तर पहल जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ। सहमतिको प्रभावकारी कार्यान्वयनमार्फत स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास सङ्घले व्यक्त गरेको छ।
Related Posts





सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, १६ औँ सत्याग्रह अन्त्य
नेपाल सरकार र वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर जारी १६ औँ सत्याग्रह सोमबार अन्त्य भएको छ। सहमतिमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनदेखि विगतका सहमति कार्यान्वयनको अनुगमनसम्मका विषय समावेश गरिएका छन्।
